मुग्लिन-नारायणगढको वैकल्पिक मार्ग खोल्न २ करोड ६९ लाख बजेट विनियोजन
तनहुँ, १५ फागुन । मुग्लिन-नारायणगढ सडकखण्डको वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम सुरु भएको छ। हाल सञ्चालनमा रहेको सडकको विकल्पको रूपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ट्रयाक खोल्न लागिएको हो।
सडक विभागले चालु आर्थिक वर्षमा यस कार्यका लागि २ करोड ६९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट सडकको ट्रयाक खोल्ने काम भइरहेको छ।
मुग्लिन–नारायणगढ सडकको विकल्पको रूपमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डीपीआर) पछि सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो।
देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले स्थानीयले पटक-पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए। मुग्लिन–नारायणगढ सडकखण्डको विकल्पका रूपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उनको भनाइ छ।
नवलपुरको गैंडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायमा माग गरेका थिए।
विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भई अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यो सडक निर्माण भएमा देवघाट आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने बताए।
हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने विश्वास उनले व्यक्त गरे।
हाल सञ्चालनमा रहेको मुग्लिन-नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सके हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए। वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ।