मोटरसाइकलको ठक्करबाट मकवानपुरमा वृद्धको मृत्यु

मकवानपुर,१५ फागुन । हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नम्बरको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो।
उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ।