भोजपुर लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

भोजपुर,१८ फागुन । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन्।

मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक तरिका सिकेपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा आकर्षित भएका हुन्।

आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहज भएको स्थानीयको भनाइ छ। यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ।

मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताए। विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले जानकारी दिए।

दुई चरणको तालिममा सहभागी भएसँगै आफैँले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उनको भनाइ छ। “मैले व्यावसायिक रूपमा मौरीपालन गरिरहेको छु”, उनले भने, “विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिएँ। एक्काइस दिने मौरीपालनसम्बन्धी तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु।”

मौरीपालनसम्बन्धी तालिम पाएपछि व्यावसायिक रूपमा लाग्न टेवा पुगेको स्थानीयवासी अमृत राईले बताए। आधुनिक रूपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ। तालिमका क्रममा मौरीपालनसम्बन्धी आवश्यक ज्ञान पाएको उनले बताए। आफूसँगै अहिले १५ घार मौरी रहेको उनले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो। यहाँका अधिकांश किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेकाले उनीहरूलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए।

खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नमा स्थानीयले ध्यान दिनुपर्ने उनको भनाइ छ। वडाले क्रमशः रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नमा भूमिका खेलिरहेको उनले जानकारी दिए। परम्परागत रूपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उनको भनाइ छ।

“लेखर्क मौरीपालनका लागि निकै राम्रो क्षेत्र हो”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेका छन्। परम्परागत रूपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ। मौरीपालनबाट स्थानीयवासीको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य छ। हामी मौरीपालनको स्रोत केन्द्रका रूपमा विकास गर्न लागिपरेका छौँ।”

मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो। वडाका ४६९ घरपरिवारमध्ये २५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए।