शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री लेखक
काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार गम्भीर र संवेदनशील ढङ्गबाट काम गरिरहेको बताउनुभएकाे छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे, “सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालय गम्भीर र संवेदनशील ढङ्गबाट काम गरिरहेको छ।”
आफूले गृहमन्त्रीका रूपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरू भएको उहाँले जानकारी गराउनुभयाे। “यहाँहरूको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरूबाट शान्तिसुरक्षा, सेवाप्रवाह, विपद् व्यवस्थापन लगायत विषयमा सुधारका लागि व्यक्त गर्नुभएका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ”, मन्त्री लेखकले भन्नुभयाे।
नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्को सम्पत्ति बनिसकेको बताउँदै उहाँले कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिनुभयाे।
मन्त्री लेखकले भन्नुभयाे, “विपत् व्यवस्थापनमा मनसुनजन्य विपत् एवं भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणले लय समातेको छ, नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारलगायत लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्नेगरी कानुन कार्यान्वयनमा गृह मन्त्रालयअन्तर्गतका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ।”