रारा घुम्न गएका आन्तरिक पर्यटकको लेक लागेर मृत्यु

काठमाडाैं, १९ फागुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न पुगेका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ।

काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको रारा घुम्नेक्रममा आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए। चेकजाँचपछि शरीरमा अक्सिजनको कमी छ, आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ।

चेकजाँचपछि सल्लेरी फर्किएका तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए।
उनका अनुसार भुवनमा मोटोपन थियो। दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रहेछ। हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीका कारण लेक लागेर कार्डियो पल्मोनरी एरेस्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो।