बारपाकमा क्यान्सर पहिचान शिविर: १२० महिलाको परीक्षण, ८ जनामा क्यान्सरको जोखिम
गोरखा,२० फागुन । बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा सोमबार पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचानका लागि निःशुल्क शिविर सम्पन्न भएको छ। शिविरमा १२० जना महिलाले आफ्नो पाठेघरको मुखको क्यान्सर जाँच गराएका थिए।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टका अनुसार जाँच गराएकामध्ये ८ जनामा पाठेघरको मुखको क्यान्सरको जोखिम देखिएको छ। उनीहरुमा ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो।
भिआइए पोजेटिभ देखिएका महिलाहरुको तत्कालै उपचार सुरु गरिएको छ र ६ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको छ। गाउँपालिकाको आयोजना, अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाका लागि शिविर सञ्चालन गरिएको थियो।
प्रमुख भट्टका अनुसार भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने र क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिन्छ। ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर र पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर आयोजना गरिएको हो।
“भिआइए परीक्षणले १० वर्षपछि क्यान्सर हुने सम्भावना छ कि छैन वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ,” भट्टले भने, “औषधि राखेर हेर्दा क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ र सोही अनुसार उपचार थालिन्छ।”
