पाल्पाको ऐतिहासिक सत्यवती मेला आजदेखि सुरु
पाल्पा, ४ मङ्सिर । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा लाग्ने मेला मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
कान नसुन्ने सत्यवतीबज्यैलाई चिच्याएर वर मागे मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । भक्तजन रातभर जाग्राम बसेर पूजाआजा गर्ने र बिहान ताल नजिक पुगेर चिच्याउँदै मनोकामना व्यक्त गर्ने परम्परा छ ।
सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार मेलाका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ । यस वर्ष विशेष साइतसमेत परेकाले विगतका वर्षभन्दा भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ भने धार्मिक तथा सांस्कृतिक मर्यादा कायम राख्न मदिराजन्य पदार्थको बिक्री र सेवनमा रोक लगाइएको समितिले जनाएको छ ।
सत्यवती मेलाको विशेष परम्परामध्ये राति लिङ्गो गाडेर वर माग्ने चलन पनि हो । भक्तजनले बाँस, निङ्गालो तथा साललगायत काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेर घर फर्कने गर्छन् । मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत छ ।
यस वर्षको मेलाको अर्को आकर्षण नवनिर्मित तीनतले मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ मन्दिर निर्माण गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार ६५ लाख ५८ हजार रुपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो । सत्यवती ताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको नयाँ मन्दिरमा यस वर्षदेखि नै भक्तजनले पूजाआजा गर्न पाउनेछन् ।
यसैगरी तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले भक्तजनको आवागमन तथा पूजाआजामा सहजता थपिने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मेलामा हरेक वर्ष हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । यसले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पुर्याउँदै आएको छ ।
ndow full
