उच्च अदालत पाटनका न्यायाधीशका पीएसओ प्रहरी हवल्दारले आफैँलाई हाने गोली
काठमाडौं, ४ मङ्सिर । उच्च अदालत पाटनका एक न्यायाधीशको निजी सुरक्षा अधिकारी (पीएसओ) प्रहरी हवल्दार डोलनाथ ढकाल मृत फेला परेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार ढकालले बिहीबार राति टोखा नगरपालिका–१, झोरस्थित आफ्नै दुईतले घरको दोस्रो तलामा आफैँलाई गोली हानेका थिए ।
आफू सुत्ने कोठाको ढोका बन्द गरेर पेस्तोल चलाएका ढकाललाई परिवार तथा छिमेकीले ढोका फोडेर अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि उनलाई राति ९ बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।
अस्पतालका चिकित्सकले राति सवा ९ बजे उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
