मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सेवाले दर्शनार्थीलाई सहज
मुस्ताङ, २३ फागुन । मुक्तिनाथमा घोडचढी र स्टेचर सेवा उपलब्ध भएपछि मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरूलाई सहज भएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का चार गाउँका स्थानीय युवाहरूले दर्शनार्थीहरूलाई घोडचढी गराएर र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्याउने सेवा गरिरहेका छन्।
मुक्तिनाथ मन्दिरसम्म पुग्न रानीपौवा बसपार्कबाट करिब ४५ मिनेट लाग्छ। शारीरिक रूपले तन्दुरुस्त दर्शनार्थीहरूलाई पैदल यात्रा गर्न समस्या नभए पनि ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूका लागि यो निकै चुनौतीपूर्ण छ। बसपार्कबाट मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न उकालो बाटो हिँड्नुपर्ने हुन्छ। बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र अन्य सवारी साधन लैजान निषेध गरिएको छ। त्यसैले, पैदल हिँड्न नसक्ने दर्शनार्थीहरू घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्न बाध्य छन्।
खिङ्गा, झारकोट, मुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाहरूले सशुल्क घोडा चढाउने व्यवसाय चलाएका छन्। यी चार गाउँका युवाहरूले मात्र दर्शनार्थीहरूलाई घोडामा चढाएर मुक्तिनाथ पुर्याउने सेवा दिन्छन्। यसका लागि घोडा समिति गठन गरिएको छ, जसले सेवालाई व्यवस्थित गरेको छ। रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्वारसम्म दर्शनार्थी ओसारपोसार गरेबापत नेपाली दर्शनार्थीलाई रु ४०० र भारतीय दर्शनार्थीलाई भारु ४०० शुल्क तोकिएको छ।
मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरूङका अनुसार घोडा चढाउने व्यवसायले स्थानीय युवाहरूलाई वैकल्पिक आयआर्जनको अवसर दिएको छ। यसले युवाहरूलाई गाउँमै रोक्न मद्दत गरेको छ।
वारागुङ मुक्तिक्षेत्र–१ का करिब २० घरपरिवारले मुक्तिनाथमा दर्शनार्थीहरूलाई घोडा चढाएर जीविकोपार्जन गरिरहेका छन्। घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न बिहान ७ बजेभित्र घोडाधनीले नाम टिपाउनुपर्छ। त्यसपछि रोलक्रमअनुसार आलोपालोमा दर्शनार्थी लैजान पाइन्छ।
मुस्ताङमा सडक यातायातको सुविधा नहुँदा मालसामान ढुवानी गर्न घोडाको प्रयोग हुन्थ्यो। तर, यातायातको पहुँच बढेपछि घोडापालन घट्दै गएको थियो। यद्यपि, उपल्लो मुस्ताङ र बाह्रगाउँ क्षेत्रका गुरूङ र विष्ट समुदायले महत्त्वपूर्ण चाडपर्वमा घोडालाई संस्कृतिसँग जोडेर मनाउँछन्। वारागुङ–१ खिङ्गाका सञ्जय गुरूङका अनुसार घोडा मुस्ताङको सांस्कृतिक धरोहर हो। यदि मुक्तिनाथ क्षेत्रमा दर्शनार्थीहरूलाई घोडा चढाउने व्यवसाय गर्न नपाउने हो भने बाह्रगाउँका घोडासमेत विस्थापित हुने उनको भनाइ छ।
त्यस्तै, मुक्तिनाथमा युवाहरूले घोडा चढ्न नसक्ने दर्शनार्थीहरूलाई स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्याउँछन्। बसपार्कबाट मन्दिरसम्म पुर्याएको रु ४,००० लिने गर्छन्। यसरी स्टेचर बोक्न चार जना युवाको आवश्यकता पर्छ। स्थानीय युवाहरूले सञ्चालन गरेको यो सेवाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीहरूलाई ठूलो सहयोग पुगेको छ।
