प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने गरी कानुन बन्दैन: सभामुख घिमिरे
काठमाडौँ, २३ फागुन । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन प्रतिनिधिसभाबाट नबन्ने स्पष्ट पार्नुभएकाे छ ।
अर्थप्रधान सञ्चार माध्यमहरूको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधानले दिएको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट रहेको बताउनुभयाे ।
“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन/हुने छैन,” उहाँले भन्नुभयाे। कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शितालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा उहाँले जोड दिनुभयाे।
देश अहिले सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ सम्भावना खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताउनुभयाे ।
तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई, नीति–निर्माण र दिगो विकासलाई दिशा दिने एक महत्त्वपूर्ण साधन हुनुपर्ने उहाँको धारणा थियो।