लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ७ हजार दीप प्रज्ज्वलन, त्रिपिटक पाठ सम्पन्न

लुम्बिनी, २५ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ७ हजार दीप प्रज्ज्वलन गरिएको छ। चौथो त्रिपिटक पाठ समारोहको समापनसँगै शनिबार साँझ लुम्बिनी स्क्वायरमा दीप प्रज्ज्वलन गरिएको हो।

धम्मकाय फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा भिक्षु, भिक्षुणी, लामा गुरु, आनी र उपासक उपासिकासहित ५०० अल्पकालीन भिक्षुहरूको सहभागिता रहेकाे थियो।

नेपालको झण्डालाई केन्द्रमा राखेर धम्मचक्रको आकारमा दीपहरू प्रज्ज्वलन गरिएको थियो। अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले दीप प्रज्ज्वलनको शुभारम्भ गर्नुभएको थियो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थलमा दीप प्रज्ज्वलन गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताउँदै बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो। थाई धम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, भिक्षु निग्रोध महास्थविर र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने विचार व्यक्त गर्नुभयो।

यसैबीच, लुम्बिनीमा अखिल नेपाल भिक्षु महासंघको आयोजना र लुम्बिनी विकास कोषलगायत विभिन्न संस्थाको सहआयोजनामा भएको चारदिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पनि सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपिटक पाठको समापन गर्नुभयो। उहाँले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गर्दै शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताउनुभयो।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा इन्टरनेसनल त्रिपिटक च्यान्टिङ कमिटीका संस्थापक उपासिका वाङ्मो डिक्सीले लुम्बिनीमा बसेर बुद्धको उपदेश पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धि भएको बताउनुभयो।

कार्यक्रममा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो। गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान त्रिपिटकमा सङ्ग्रहित छ।