तालिमपछि बन्दीपुरका महिला च्याउखेतीतर्फ आकर्षित

तनहुँ, २५ फागुन । बन्दीपुर गाउँपालिकाले च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि स्थानीय महिलाहरू च्याउखेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा २५ जना किसानलाई तालिम दिएकोमा १९ जना महिला सहभागी छन्।

तालिम लिएपछि च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी लिन थालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका हुन्। गाउँपालिकाले तालिमपश्चात् किसानलाई बीउ, टनेलका लागि प्लास्टिक र ग्रोइङ ब्याग जस्ता सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए। गाउँपालिकाले यसका लागि १ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ।

कृषि शाखाका अभिषेक भट्टराईका अनुसार तालिम लिएका २४ जना किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। उनीहरूले उत्पादन गरेको च्याउ स्थानीय बजारमा खपत भइरहेको छ। लक्ष्य अनुसार उत्पादन भएमा किसानले ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने भट्टराईको अनुमान छ।

तालिमपछि च्याउखेतीमा लागेकी बन्दीपुर गाउँपालिका-५ फलामडाँडाकी सपना गुरुङले ६ हजार रुपैयाँ बराबरको च्याउ बेचिसकेकी छन्। उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उनी बताउँछिन्। उनले अब पर्याप्त च्याउ उत्पादन गरेर अन्य ठाउँमा पनि बिक्री गर्ने योजना बनाएकी छन्।

यसैगरी बन्दीपुर-६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताइन्। तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन्। यो च्याउ धानको पराल वा गहुँको छवालीमा गर्न सकिन्छ। गर्मी र जाडो दुवै मौसममा गर्न सकिने भएकाले यसबाट किसानले राम्रो लाभ लिन सक्छन्।

बन्दीपुर गाउँपालिका-३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताइन्। उनले सिकेको ज्ञान र सीप गाउँका अन्यलाई पनि बाँड्ने गरेको बताउँदै च्याउ उत्पादन गरेर बन्दीपुरका होमस्टेमा बस्ने पाहुनालाई खुवाउने योजना सुनाइन्।
यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन्। घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर भएका हुन्।