प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु, ३८ देशका करीब ३५० प्रतिनिधि सहभागी
काठमाडौं, १८ कात्तिक । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको उद्घाटन निवर्तमान राष्ट्रपति एवं नेकपा (एमाले) वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्नुभयो । विश्वका ३८ देशबाट करिब ३५० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने सो कार्यक्रमलाई सम्वोधन गर्दै भण्डारीले नेकपा (एमाले) जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको पार्टी भएको बताउनुभयो ।
उहाँले एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ भन्दै उहाँले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्नुपर्ने भन्दै प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता एउटै नभएको उल्लेख गर्नुभयो । ‘श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा र विभिन्न पेसामा संलग्न नेपालीका समस्या आफ्नै छन् र समस्या र सरोकारहरू पनि छन्। ती सबैलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘स्वदेशी निजी क्षेत्रसँग जोडिएर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा पनि प्रोत्साहित गर्नुपर्छ । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले विगतका अनुभवको सही विश्लेषण गरेर मात्रै आगामी कार्यभार तय गर्नुपर्ने बताउनुभयो । उहाँले एमाले नेतृत्वमा बनेका दुईवटा नौ महिने सरकारबाहेक अन्य सरकारका पालामा पनि धेरै महत्त्वपूर्ण काम भए पनि जनमत विस्तार हुन नसकेको स्वीकार गर्नुभयो । ‘२०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन सकेन। समाजलाई परिवर्तन गर्ने उद्देश्य राखिएको पार्टीले शक्तिशाली सरकार निर्माण भएका बेला जनमत विस्तार गर्न किन सकेन भन्ने कुरा हाम्रो मूल्याङ्कनको विषय बन्नुपर्दछ। जब–जब हामी यो सत्यलाई मूल्याङ्कन गर्न सक्दैनौँ, तबसम्म समाजवाद निर्माणको ध्येय र उद्देश्य हासिल गर्न सक्दैनौँ,’ उहाँले भन्नुभयो, ‘गत भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लाग्यो । पार्टीकै नेतृत्वमा सरकार रहेका बेला भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।’
उहाँले उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको उल्लेख गर्नुभयो । ‘सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा काम र भूराजनीतिक स्वार्थबारे जनतालाई सचेत गराएर जनमत पुनः आफ्नो पक्षमा फर्काउने अपेक्षा एमालेले गरेको भए पनि परिणाम अपेक्षाअनुसार आउन सकेन,’ उहाँले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचनमा एमालेजस्तो पार्टी नौ सिटमा सीमित हुने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । निर्वाचनमा पराजय भएपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरियो ।’
उहाँले त्यसैका आधारमा मात्रै अघि बढ्न नसकिने निष्कर्षसहित सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरेको र कार्यदलले कार्यकर्ताका सुझाव संकलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार गरेको स्मरण गराउनुभयो । ‘उक्त प्रस्तावको जगमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी जीवनमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै आगामी दिनमा अघि बढ्न दुई कार्यभार र १५ वटा काम तय गरेको छ,’ उहाँले भन्नुभयो ।
मञ्चले महाधिवेशन अघि पत्रकार सम्मेलन गर्दै महाधिवेशनबारे जानकारी दिएको थियो । सो अवसरमा उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल आवश्यक रहेको उल्लेख गरे । अधिवेशनले यस दिशामा महत्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने भट्टले विश्वास व्यक्त गर्नुभएको थियो ।
मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै विश्वभरका प्रवासी नेपालीहरूको सहभागितामा अधिवेशन आयोजना हुन लागेको बताउनु भएको थियो ।
महाधिवेशन ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित कात्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुनेछ। महाधिवेशनको समापन समारोहलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मञ्चले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य दिएको छ । मञ्चका वर्तमान अध्यक्षले प्रवासी नेपालीहरू नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिका महत्वपूर्ण साझेदार हुन्। उनीहरूको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्न मञ्चले निरन्तर काम गरिरहेको बताउनु भएको छ ।
