स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. रघुराज काफ्ले नियुक्त

काठमाडौं, २७ फागुन । सरकारले विकास अर्थशास्त्री डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सिफारिस समितिले छानेका तीन जना उम्मेदवारमध्येबाट मन्त्रिपरिषद्ले काफ्लेलाई उक्त पदमा नियुक्त गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार, आवेदन दिएका १० जनामध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम सिफारिस समितिले मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा सदस्य रहेका डा. काफ्लेले स्वास्थ्य बीमा सुधारका लागि सुझाव प्रतिवेदन पेश गरेका थिए।

यसअघि डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक भइसकेका छन्।

डा. काफ्लेले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) मा एक दशकभन्दा बढी समय वरिष्ठ अधिकारीको रूपमा काम गरेका छन्। विकास रणनीति निर्माणमा संलग्न डा. काफ्लेले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् र लामो समय प्राध्यापन पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *