ताप्लेजुङका किसान सामूहिक मकैखेतीतर्फ आकर्षित
ताप्लेजुङ,२८ फागुन । ताप्लेजुङ जिल्लाका किसानहरू पछिल्लो समय सामूहिक खेतीतर्फ आकर्षित भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का किसानहरूले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती सुरु गरेका छन्।
१२ परिवार मिलेर १४० रोपनी जग्गामा उनीहरुले मकैखेती गरिरहेका छन्। स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पहिले किसानहरूले आफ्नो इच्छा अनुसार फरक-फरक बाली लगाउने गरेका थिए। तर, अहिले योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रचलन बढ्दै गएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रम अन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानहरू सामूहिक मकैखेतीतर्फ आकर्षित भएका हुन्। कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार १४० रोपनी जग्गामा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको छ। समूहले सामूहिक खेतीका लागि रु १६ लाख लगानी गरेको छ, जसमा ५० प्रतिशत किसानको र बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको अनुदान रहेको छ।
रामपुर हाइब्रिड १६ र मनकामना–३ जस्ता उन्नत जातका मकै लगाइएको छ। परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रम अन्तर्गत किसानहरूलाई आधुनिक कृषि यन्त्र प्रयोग गर्ने ज्ञान र खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरिएको छ।
सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजना रहेको छ। स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि अपनाउने सोच उनीहरुको छ।