नसर्ने रोगका बिरामी पहिचान गर्दै पौवादुङमा गाउँपालिका

भोजपुर, २८ फागुन । पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ।

अस्वस्थ्यकर खानपान तथा जीवनशैलीका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिकाले रोगको न्यूनीकरण तथा रोकथामका लागि यो अभियान थालेको हो।

गाउँपालिकाले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घरघरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले जानकारी दिनुभयो। गाउँपालिकाका ३० वर्षमाथिका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण भइरहेको उहाँले बताउनुभयो।

हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ।
“हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छौँ,” शाखा प्रमुख दाहालले भन्नुभयो, “तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परीक्षण सम्पन्न गरेका छौँ। यहाँका ३० वर्षमाथिका एक हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ।”

हालसम्मको परीक्षणमा यहाँका करिब १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा १० जनामा मिर्गौला समस्या र १५ जनामा मधुमेहको लक्षण देखिएकाले उनीहरूलाई उपचारका लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताउनुभयो।

कार्यक्रममार्फत उच्चरक्तचाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाइ अनुसारको तौलको परीक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो। विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा ल्याब परीक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो।

वर्षैनी नसर्ने दीर्घरोगको बिरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोकथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो। योजनाबद्ध रूपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भइरहेको भए पनि नसर्ने दीर्घरोगको रोकथाम तथा न्यूनीकरणका लागि नागरिकको स्वास्थ्य परीक्षणको काम भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *