सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप, फाप्लु अस्पतालमा बिरामीको चाप धान्न मुस्किल

सोलुखुम्बु, १ चैत । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप बढेको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको संख्या अत्यधिक बढेको छ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा बढेको छ। जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालमा बिरामीको चाप थेग्न गाह्रो भएको छ।

फाप्लु अस्पतालमा दैनिक एक दर्जनभन्दा बढी भाइरल संक्रमणका बिरामी उपचारका लागि आइरहेका छन्। १५ शय्या क्षमताको अस्पतालमा ५० भन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका छन्। यसले गर्दा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो।

अस्पतालका सबै बेड भरिएकाले सुत्केरी कक्षका बेड पनि प्रयोग गर्नुपरेको छ। “अस्पतालमा भर्ना भएका धेरै बिरामी भाइरल संक्रमणका छन्। जनशक्ति कम छ, तर बिरामीको चाप धेरै छ। हामीले उपलब्ध सबै स्रोतसाधन प्रयोग गरिरहेका छौँ,” शेर्पाले भन्नुभयो।

अस्पतालमा आउने धेरै बिरामी गम्भीर अवस्थाका छन्। ज्वरो, दम, निमोनिया र श्वासप्रश्वासको समस्या भएका बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ। बालबालिका र वृद्धवृद्धा भाइरल संक्रमणबाट बढी प्रभावित भएका छन्। स्वास्थ्य कार्यालयले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। फाप्लु अस्पतालमा जनशक्ति र औषधिको अभावले थप समस्या भएको छ।

दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप धेरै हुँदा उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ। भाइरल ज्वरो सजिलै सर्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको डा. श्रेया पङ्गेनीले बताउनुभयो।