गोरखामा नेपाली सेनाको स्वास्थ्य शिविर, ५२५ जनाले लिए निःशुल्क सेवा
गोरखा,३ चैत । गोरखाको सहिद लखन गाउँपालिका-६ स्थित घैरुङ स्वास्थ्य चौकीमा नेपाली सेनाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित भएका छन्।
रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग र पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरू निःशुल्क प्रदान गरिएको थियो।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार शिविरमा ३५८ महिला र १६७ पुरुषले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा ४१ जना महिलाको पाठेघरको क्यान्सर स्क्रिनिङ (VIA) परीक्षण गरिएकोमा ४ जनामा क्यान्सरको जोखिम देखिएको छ। उनीहरूको थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार सुरु गरिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ।
यसैगरी, १४९ जनाले हाडजोर्नीसम्बन्धी, २५४ जनाले अन्य रोगको, १० जनाले दन्त, ९० जनाले स्त्रीरोग, २२ जनाले छाला रोग र ७३ जनाले प्रयोगशाला सेवा लिएका छन्। शिविरमा उपचार सेवा लिने बिरामीलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो।
प्रमुख श्रेष्ठले भने, “गाउँमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामीहरू धेरै खुसी भएका छन्।” शिविरमा करिब ३ लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको थियो। लायन्स क्लब अफ गोरखाकाली, प्रभु बैंक र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको थियो।