नाटकघरबाट चलचित्रमा आउने कलाकार बढ्दै, रङ्गमञ्चको अनुभवले अभिनयमा निखार

काठमाडौँ, १० चैत । पछिल्लो समय रङ्गमञ्च (Theatre) बाट चलचित्रमा अभिनय गर्ने कलाकारको संख्या बढ्दै गएको छ। अहिले नेपाली चलचित्रमा स्थापित धेरै अभिनेताहरू नाटकघरबाटै आएका छन्। यही विषयमा ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौं संस्करणमा रङ्गमञ्चकर्मीहरूबीच छलफल भएको छ।
‘विश्वभरिका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ काठमाडौंमा जारी निफमा ‘रङ्गमञ्चबाट रङ्गीन पर्दा’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्ने, कामप्रतिको सम्मान बढाउने र अनुशासन सिकाउने बताए। उनले अभिनय अध्ययन गर्नुपर्ने विधा भएको र यसले रङ्गमञ्चबाट ठूलो पर्दामा जान मद्दत गर्ने बताए। “रङ्गमञ्चलाई साथै राखेर चलचित्रमा आउने कलाकारहरू दीर्घायु हुन्छन्,” उनले भने।
अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रङ्गमञ्च दुवैमा सङ्घर्ष र निरन्तरता आवश्यक रहेको बताइन्। रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो भएको र यहाँ अभिनय सिकेका धेरै कलाकार अहिले चलचित्रमा खोजिने नाम बनेको उनको भनाइ थियो।
अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रङ्गमञ्च अभिनयमा भविष्य देख्नेहरूका लागि बाटो देखाउने माध्यम बनेको बताए। उनले नाटक र चलचित्रको माध्यम फरक भएकाले दुवैलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताए। “नाटकमा हामी आफैँले सबै काम गर्छौं, तर चलचित्रमा क्यामेरा पछाडि धेरैजना निर्देशक हुन्छन्,” उनले भने।
नाट्यकर्मी सृजना अधिकारीले यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘सतिदेवी’ मा अभिनय गरेकी थिइन्। उनले नाटक र चलचित्रमा अभिनयका लागि उस्तै तयारी गर्नुपर्ने बताइन्। “नाटकमा हामीले आफ्नो अभिनयसँगै आवश्यक सबै तत्व मिलाउनुपर्छ, तर चलचित्रमा त्यसलाई विचार गर्ने धेरै व्यक्ति हुन्छन्,” उनले भनिन्।
अभिनेत्री गिरीले चलचित्रसँगै रङ्गमञ्चलाई पनि समय दिने गरेको बताइन्। उनले वर्षमा तीनदेखि छ महिनासम्म नाटकका लागि समय छुट्याउने गरेको जानकारी दिइन्।
रंगपत्रकार सुकृत नेपालले सहजीकरण गरेको अन्तरक्रियामा रङ्गमञ्चबाट चलचित्रमा गएका कलाकारले अभिनयमा निरन्तरता दिन सक्ने कुरामा जोड दिइएको थियो।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत ११ गतेसम्म चल्ने महोत्सवमा ४० देशका ८७ चलचित्र, वृत्तचित्र तथा छोटा चलचित्र सहभागी छन्। महोत्सवमा विभिन्न विधामा पुरस्कार वितरण गरिनेछ।