आईपीएलमा हैदराबादको विजयी सुरुवात, राजस्थान ४४ रनले पराजित
काठमाडौं, १० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन (३५ बलमा ६ चौका र ५ छक्का) को योगदान दिए भने कप्तान सन्जु सामसनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए। शिमरन हेटमायरले ४२ र शुभम दुबेले अविजित ३४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
हैदराबादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान २-२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल योगफल तयार पारेको थियो। हैदराबादका लागि ईशान किसनले ४७ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १०६ रनको शतकीय पारी खेले। ट्रेभिस हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रनको योगदान दिए। हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए।
राजस्थान रोयल्सका तुषार देशपाण्डेले ३ विकेट लिए भने महेश तिक्क्षणाले २ र सन्दीप शर्माले १ विकेट लिए।