सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ: राष्ट्रपति पौडेल
काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताउनुभएकाे छ । साथै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पार्नुभयाे ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, “शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।” उहाँले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयाे।
राष्ट्रपति पौडेलले भन्नुभयाे “इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ। यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो।”
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गर्नुभयाे । उहाँले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताउनुभयाे । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो। टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो।
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए। उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे।
राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको बताए। उनले भने, “यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढङ्गले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु।”
उहाँले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउँदै यही भूगोलको सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत् आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवं अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान महत्वपूर्ण छ।”