भोजपुरका दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

भोजपुर, १४ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ।

न्यून आय भएका दलित समुदायलाई आर्थिक रुपमा सक्षम, उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउन गाउँपालिकाले यो कार्यक्रम थालेको हो।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो।

आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो।