कमलपोखरीमा रात्रिकालीन बत्ती, पानी पुनर्भरण र सुरक्षामा उपप्रमुख डंगोलकाे जोड

काठमाडौं, २२ चैत्र । काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणको दोस्रो चरणमा रात्रिकालीन बत्ती, आकाशे पानी पुनर्भरण, सुरक्षा र सौन्दर्यीकरणलाई विशेष प्राथमिकता दिने भएको छ।

उपप्रमुख सुनिता डंगोलले पोखरी पुनर्निर्माण कार्यको स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई यस्तो निर्देशन दिनुभएको हो।

पोखरी परिसरका चैत्य र मूर्तिमा क्षति पुगेको पाइएपछि उपप्रमुख डंगोलले तत्काल सिसीटिभी जडान गरी निगरानी बढाउन निर्देशन दिनुभयो। साथै, उहाँले बर्खाको पानी संकलन गरी पोखरीको जलसतह दिगो रूपमा कायम राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। “रातमा बत्ती, आकाशे पानी पुनभरण विधि, सुरक्षा र सौन्दर्य; कमलपोखरीको पर्याय हुनुपर्छ,” उहाँले भन्नुभयो।

अनुगमनमा सहभागी सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले सार्वजनिक स्थलहरू प्रयोगकर्तामैत्री हुनुपर्ने बताउनुभयो। करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित पुनर्निर्माण भइरहेको छ।

पहिलो चरणमा रु. ६ करोड ३६ लाखको लागतमा पोखरी र सम्बन्धित संरचना बनेका थिए। हाल चलिरहेको दोस्रो चरणमा रु. ३ करोड ६ लाख ८ हजार ११ को लागतमा सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ, जुन आगामी आषाढ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।

सार्वजनिक निर्माण विभागले मुख्य योजना कार्यान्वयन गरिरहेको छ भने उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ट्याक्टिकल अर्बानिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) को काम गरिरहेको छ। यसका लागि चालु आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

परियोजना अन्तर्गत करिब ५ रोपनीमा पार्क निर्माण, सिमाना पर्खालबाहिर फल्चा शैलीको बस बिसौनी, विश्रामस्थल, वृक्षरोपण, फूल रोपण जस्ता कामहरू पनि भइरहेका छन्। यसै वर्ष पोखरीका चार कुनामा कमल रोप्ने र माछा हाल्ने योजना पनि छ।

साँझ-बिहान हिँड्नेहरूका लागि प्रकाश व्यवस्था गर्न वडा नं. १ कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिरहेको छ। पोखरी वरिपरि पैदल मार्ग, चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान, आकर्षक मण्डपहरू निर्माण गरिएको छ र निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ।