पेरिस सेन्ट जर्मन १३ औँ पटक फ्रान्सेली लिग च्याम्पियन

पेरिस, चैत २४ गते । पेरिस सेन्ट जर्मन (पिएसजी)ले आइतबार छ खेल बाँकी छँदै फ्रान्सेली शीर्ष घरेलु लिग प्रतियोगिता लिग वनको उपाधि जितेको छ । पिएसजीले एन्जर्सलाई १–० हले हराएर कीर्तिमान १३ औँ पटक लिग उपाधि जितेको हो । यस सत्रमा पिएसजी अपराजित रहेर च्याम्पियन बन्यो । दोस्रो स्थानमा रहेको मोनाकोले ब्रेस्टसँग २–१ ले हार वेहोरेपछि पिएसजीले शीर्ष स्थनमा २४ अङकको फराकिलो अग्रता बनाएको हो ।

पिएसजीले उपाधि जित्न बराबरी पनि पर्याप्त थियो । तर किशोर उमेरका फरवार्ड डिजाइरे डोइले खेलको ५५ औँ मिनेटमा गोल गरे। पिएसजीले यस सत्रमा २८ खेलमध्ये २३ मा जित हात पारेको छ । यस क्रममा पिएसजील्े ८० गोल गर्यो भने मात्र २६ गोल वेहोरेको छ ।

यस सत्रमा पिएसजी चार उपाधि जित्ने अभियानमा रहेको छ पिसएसजीले फ्रेञ्च सुपर कप पनि जितिसकेको छ । चालू सत्रमा दुई प्रमुख उपाधि हासिल गरिसकेको पिएसजी च्याम्पियन्स लिग उपाधिको होडमा रहेको छ । पिएसजीले बुधबार क्वाटरफाइनलमा एस्टन भिल्लासँग खेल्दैछ । पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। यसैगरी पिएसजी फ्रेञ्च कपको फाइनलमा पनि पुगिसकेको छ । आगामी मे २४ तारिखमा हुने फ्रेञ्च कपको फाइनलमा पिएसजीले रिम्सविरुद्ध खेल्नेछ ।