मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा एक्कासी लाग्याे आगाे
काठमाडाैं, ४ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना भएकाे छ । बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको हाे ।
प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको छ । कार्यालयका प्रवक्ता श्यामु अर्यालले बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडाैं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय नम्बरप्लेटकाे कारमा आगलागी भएको छ ।
काठमाडाैंबाट हेटाैँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उहाँले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।