स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग : आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाडौँ,  मङ्सिर ४ ।  निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाउँदै आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुने भएकाले आयोगले नयाँ निर्वाचनको मिति निर्धारण तथा आवश्यक तयारीका विषयमा राजनीतिक दलहरूसँग परामर्श गर्न लागेको हो ।

आयोगले आज बिहान ११ः३० बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा आमन्त्रण गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न दलका प्रतिनिधिलाई बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको मिति, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका सम्बन्धमा दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको हो । स्थानीय तहसँगै प्रदेश तहको निर्वाचनका सन्दर्भमा समेत राजनीतिक दलहरूसँग परामर्श हुने आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसअघि नै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले आवश्यक तयारी र गृहकार्य अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *