निजामती विधेयक: उपसमितिको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल प्रारम्भ

काठमाडौं, ५ वैशाख । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठन भएको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन समिति समक्ष पेश गरेको थियो ।
शुक्रबार बसेको समितिको बैठकमा संयोजक बडुले प्रतिवेदनका मुख्य बुँदाहरू र उपसमितिमा भएका छलफलबारे जानकारी गराएका थिए । प्रतिवेदनमाथि भएको प्रारम्भिक छलफलमा भाग लिँदै विभिन्न सांसदहरूले आफ्ना धारणा राखेका छन् ।