संविधान विरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

कास्की, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधानको विरोधमा हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ। पोखरामा आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले पूर्वराजावादी वा अन्य कुनै नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता फैलाउने कार्यलाई सरकारले नसहने र त्यस्ता कार्य क्षम्य नहुने स्पष्ट पार्नुभयो। “बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्नु सबैको दायित्व हो,” मन्त्री लेखकले भन्नुभयो। नेपालमा सात दशकमा सातवटा संविधान बनेको स्मरण गर्दै उहाँले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधानमध्ये एक भएको र यसैमार्फत सबै समस्या समाधान गर्न सकिने विचार व्यक्त गर्नुभयो।
“संविधानको दायराभित्र रहेर आलोचना, समालोचना र अन्य गतिविधि गर्न पाइन्छ,” मन्त्री लेखकले भन्नुभयो, “तर संविधानविरोधी गतिविधिमार्फत हत्याहिंसालाई बढावा दिने, संविधान नै फाल्ने जस्ता अराजक कार्य गर्न पाइँदैन। त्यसो गरिए कानुनबमोजिम कारबाही हुन्छ।” संविधान रक्षा आजको आवश्यकता हो भन्दै उहाँले संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा आवश्यक समीक्षा गरी सरोकारवालासँगको सहमतिमा संशोधनमार्फत सुधार गर्न सकिने बताउनुभयो।
गृहमन्त्री लेखकले पछिल्ला वर्षमा लागुऔषध दुर्व्यसन, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् जस्ता चुनौतीहरू बढेको उल्लेख गर्दै सरकारले यी समस्या समाधान गर्न निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै जनतालाई सेवा दिन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो। प्रमुख जिल्ला अधिकारी सङ्घीय सरकारको प्रतिनिधिको रूपमा रहने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नागरिकमैत्री र प्रविधिमैत्री सेवा प्रवाहमा सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो प्रदेश प्राकृतिक विपद्का हिसाबले जोखिमपूर्ण रहेको बताउँदै सरकार बाढी, पहिरो, भूकम्प जस्ता विपद्को प्रतिकार्यमा निरन्तर लागिरहेको जानकारी दिनुभयो। उहाँले प्रदेशमा सम्भावित विपद्लाई ध्यानमा राखेर कम्तीमा रु १० करोडको कोष स्थापना गरिएको, आवश्यक उपकरण सहयोग गरिएको र गत वर्ष खोलिएको कोरला नाकालाई थप व्यवस्थित गरिने बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले गोदामघर हस्तान्तरणले विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीबाट गर्न सघाउ पुग्ने बताउनुभयो। गृहसचिव गोकर्णमणि दुवाडीले आपत्कालीन अवस्थामा खोज तथा उद्धारका लागि गोदामघर उपयोगी हुने बताउँदै सबै स्थानीय तहमा यस्ता गोदामघर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।