विभागीय प्रमुखहरुलाई एकै ठाउँ राखेर उपप्रमुख डंगोलले दिनुभयो यस्तो निर्देशन

काठमाडौं, ९ बैशाख । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले, आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भएको बताउनुभयो ।

‘आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।’ उहाँले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भन्नुभयो ।

बैठकमा उहाँले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनावद्ध काम गर्नुपर्ने बताउनुभयो । यसको तयारीका क्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्नु पर्ने, वैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगर सभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समय सापेक्ष र व्यवहारिक बनाउन योजना गर्नु पर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ ड्रइङ्, डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नु पर्ने उहाँको भनाइ थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बैठकमा योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले, विभागहरुले प्राप्त गरेका उपलब्धिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।