अनेमसंघको दोस्रो राष्ट्रिय महिला भेला च्यासलमा सम्पन्न

काठमाडौँ, १० वैशाख । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटीको आयोजनामा दोस्रो राष्ट्रिय महिला भेला सम्पन्न भएको छ ।

नेकपा (एमाले) को ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज उक्त भेला सम्पन्न भएको हो ।

भेलालाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने भनिए तापनि कार्यव्यस्तताका कारण उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नुभएको आयोजकले जनाएको छ ।

भेलामा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वर्तमान समयमा युवा महिलाहरूले आ-आफ्नो ठाउँबाट महिलाहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको र पार्टीले पनि त्यसलाई मूल्यांकन गर्दै जिम्मेवारीहरू प्रदान गरेको बताउनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवारीलाई सबैले इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।