नाङमा यार्सागुम्बा सङ्कलन सुरु, अनुमति र सुरक्षामा कडाइ

मनाङ, १६ वैशाख । हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनको कार्य सुरु भएको छ। मनाङका स्थानीय बासिन्दाका साथै लमजुङ, गोरखा, धादिङ लगायतका छिमेकी जिल्लाहरूबाट पनि सर्वसाधारण यार्सागुम्बा टिप्न त्यहाँ पुगेका छन्।

यार्सागुम्बा सङ्कलन गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय र सम्बन्धित संरक्षण व्यवस्थापन समितिबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने प्रावधान छ। प्रचलित कानुन, नियमावली र निर्देशिका बमोजिम अनुमति प्राप्त गरेपछि मात्र समितिले सङ्कलकहरूलाई पुर्जी दिने र तोकिएको क्षेत्रमा जान दिने व्यवस्था मिलाइएको एक्यापका इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो।

विशेषगरी, विकट र सुरक्षाका हिसाबले संवेदनशील मानिएको नार्पाभूमि गाउँपालिका क्षेत्रमा भने बाहिरी जिल्लाका व्यक्तिहरूलाई यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छैन। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार, सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई मात्र अनुमति दिइएको हो। नार्पाभूमिमा यार्सागुम्बा सङ्कलन जेठ महिनादेखि मात्र सुरु हुनेछ भने जिल्लाका अन्य लेकहरूमा वैशाखदेखि नै सङ्कलन थालिएको छ।

नासों गाउँपालिकाको नाम्ग्या लेक जस्ता अन्य क्षेत्रहरूमा भने स्थानीय र बाहिरी जिल्लाका सङ्कलक दुवैलाई अनुमति दिइएको छ। सङ्कलन अवधिभर शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो। यार्सागुम्बा सङ्कलन सामान्यतया वैशाखदेखि असार मसान्तसम्म गरिन्छ।

सङ्कलनका लागि अनुमति पुर्जी लिँदा शुल्क तिर्नुपर्ने व्यवस्था छ। साथै, सङ्कलित यार्सागुम्बा खरिद गर्न आउने व्यापारीहरूले पनि छुट्टै दस्तुर तिर्नुपर्छ। जिल्लाभित्रका व्यापारीलाई प्रतिव्यक्ति रु. २० हजार र बाहिरी जिल्लाका व्यापारीलाई प्रतिव्यक्ति रु. ४० हजार दस्तुर तोकिएको छ, जुन सम्बन्धित संरक्षण व्यवस्थापन समितिले सङ्कलन गर्दछ। सङ्कलकहरुले भने रु. ३५ हजारमा पुर्जी काटेपछि लेक जान पाउनेछन्।

मनाङका नाम्ग्या, किन्चो, याक, पिसाङ, फू, मनाङ, आइस, स्याक्यु, थोराङ्ला लगायतका अधिकांश लेकहरूमा यार्सागुम्बा पाइन्छ, तर धारापानी र थोँचे क्षेत्रमा भने यो पाइँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *