उद्यम सञ्चालनको सीप विकास तालिमसँगै उद्यमीहरूलाई प्रोत्साहन गर्न ९५ प्रतिशतसम्म कर छुटको व्यवस्था गरेका छौं – उपप्रमुख सुनिता डंगोल
काठमाडौँ, १९ वैशाख । काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ लाई थप ११ वटा वडामा विस्तार गरेको छ । गत आर्थिक वर्षमा १५ वटा वडामा सञ्चालित यस कार्यक्रम अब २६ वटा वडामा पुगेको छ । बाँकी ६ वटा वडामा पनि छिट्टै कार्यक्रम कार्यान्वयनमा ल्याइने महानगरले जनाएको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गत आर्थिक वर्षका सहभागी उद्यमी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्दै चालु आर्थिक वर्षको तालिम कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा उद्यमी समूहद्वारा उत्पादित विभिन्न सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
उपप्रमुख डंगोलले उत्पादित सामग्रीको बजारीकरणका लागि वडास्तरीय कोसेली घर स्थापना गरिएको जानकारी दिनुभयो । उद्यमशीलता विकास र महिला सशक्तिकरणमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । “उद्यम सञ्चालनको सीप विकास तालिमसँगै उद्यमीहरूलाई प्रोत्साहन गर्न ९५ प्रतिशतसम्म कर छुटको व्यवस्था गरेका छौं,” डंगोलले भन्नुभयो, “महिलाहरूको आयआर्जनमा टेवा पुर्याउन गृहिणी लक्षित यो कार्यक्रम प्रभावकारी हुनेछ ।” कार्यक्रम सम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।
महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी.ले उद्यमीहरूले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा सुधार आएको बताउँदै उद्यमशीलता प्रवर्द्धनका लागि दिगो नीति निर्माणमा जोड दिनुभयो । सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले कार्यक्रमले महिलाहरूको नेतृत्व विकास र निर्णय क्षमतामा वृद्धि भएको बताउनुभयो ।
तालिमका प्रशिक्षकद्वय सोमबहादुर तामाङ र सावित्री शिवाकोटीले तालिम व्यावहारिक र समयसापेक्ष रहेको बताउँदै उत्पादित वस्तुको बजारीकरण सहज हुने विश्वास व्यक्त गर्नुभयो । उद्यमीहरू सन्तोष बयलकोटी र सीता राईले भने उद्यमीहरूलाई मानसिक र वित्तीय जोखिमबाट बचाउन, व्यवसाय दर्ता, नवीकरण, कर दाखिला र वित्तीय सहायता प्रक्रियालाई सरल बनाउनुपर्ने माग गर्नुभयो ।
गत वर्षदेखि नै सञ्चालित यस कार्यक्रम अन्तर्गत विभिन्न वडाहरूमा गुन्द्रुक, मस्यौरा, तितौरा, फेल्टका सामान, सेरामिक्स, क्रिष्टल तथा पोतेका गहना, दुना टपरी, रुद्राक्षका माला, धुप, अचार, सुकुल, काष्ठकला, कटांकी मूर्ति, जुत्ता, मखमलका सजावटका सामान जस्ता विविध उत्पादनहरूमा आधारित उद्यमहरू सञ्चालनमा छन् । वडा नं ५ मा सेरामिक्स उद्यमका लागि प्रविधि हस्तान्तरण समेत भइसकेको छ ।
यसै आर्थिक वर्ष थपिएका ११ वडामा ऊनका सामग्री, हाकुपटासी, मरीचरी, नेवारी भेषभुषा, सचिका, सुर्के थैली, रिबनका फूल, पपेट, ढाकाका कपडा, माटोका मखुण्डो, बेबी सेट, गाउन, यमरी, फ्रोजन मःमः, छालाका जुत्ता लगायतका उत्पादनमा आधारित उद्यम सञ्चालन गरिनेछन् । यी तालिमहरू १० दिनदेखि २ महिनासम्म सञ्चालन हुनेछन् ।
उत्पादित सामग्रीको प्रवर्द्धन र विक्रीका लागि बानेश्वरस्थित एनबि सेन्टरमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । हाल १७ वटा उद्यमी समूहले त्यहाँ आफ्ना उत्पादनहरू विक्री वितरण गरिरहेका छन् ।
