नीति तथा कार्यक्रम लगानीमैत्री र युवालक्षित छ : सांसद भट्टराई

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई युवालक्षित एवं लगानीमैत्री भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नीति तथा कार्यक्रमले युवालाई रोजगारी प्रदान गर्ने र लगानीकर्ताका लागि उपयुक्त वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको बताउनुभयो।

सांसद भट्टराईले भन्नुभयो, “एकीकृत योजना बैङ्कको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम छन्। कृषि, उद्योग, उत्पादन, र पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।”

उहाँले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सके देशको आर्थिक विकासका लागि अरुको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गर्नुभयो। ऊर्जा, कृषि, र पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उहाँको विश्वास थियो।

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले भन्नुभयो, “छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, तर सस्तोमा बेचेर महँगोमा किन्ने प्रवृत्ति हुनुहुँदैन। यो स्थितिलाई अन्त्य गर्न जरुरी छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *