हङकङसँग नेपालको हार
काठमाडौँ ३० वैशाख । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल मङगलबार हङकङसँग सात विकेटले पराजित भएको छ । यस हारसँगै नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा चयन हुने सम्भावना कमजोर बनेको छ ।
हङकङलाई हराउन सकेको भए नेपाल एक खेलअघि नै समूह विजेता बनेर सुपर थ्रीमा पुग्ने समीकरण थियो । यस छनोट प्रतियोगितामा नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । डबल राउन्ड रोविनपछि हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछ । नेपाल समूह सीमा तीन खेलबाट तीन अङसहित दोस्रो स्थानमा छ । हङकङको चार अङक भएको छ । नेपाल र हङकङबिचको पहिलो खेल वर्षाले रद्द भएको थियो । त्यसपछि नेपालले बहराइनलाई हराएको थियो ।
अब नेपाल र हङकङले बहराइनविरुद्ध खेल्न बाँकी छ । नेपालले शीर्ष स्थानमा बनाएर सुपर थ्रीमा स्थान बनाउन बहराइनलाई हराउनै पर्ने भएको छ । यसबाहेक नेपालले हङकङ र बहराइनबिचको खेलका नतिजा पनि आफू अनुकुल होस् भन्ने कामना गर्नुपर्नेछ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हिजो रातिको वर्षाले मैदान भिजेको प्रति पालि पाँच ओभरमा कटौती गरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँच ओभरमा तीन विकेट गुमाएर २९ रन मात्र बनायो । प्रारम्भिक ब्याटर सम्झना खड्का १० कविता कुँवर दुई रनमा आउट भए । उपकप्तान पुजा महतोले पनि तीन रन मात्र बनाइन् । कप्तान इन्दु वर्मा नौ र रुविना क्षेत्री चार रनमा अविजित रहे ।
हङकङले तीन बल बाँकी छँदै तीन विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो । कवितकाोे पहिलो ओभरमै केरी चान र मारिको हिल्स आउट भए । चान पहिलो बलमै रनआउट भएकी हुन् । त्यसपछि कविताले नताशा माइल्स (०) र मारिको हिल (११ रन)को विकेट लिइन् । तर सन्जीन सहजादले १२ बलमा एक छक्कासहित अविजित १५ रन बनाएपछि नेपाल हार वेहोर्न बाध्य भयो । यासमीन डासवानीले पनि महत्वपूर्ण दुई रन बनाइन् ।