याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
ताप्लेजुङ, १ जेठ। ताप्लेजुङका दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आएको चौँरी (याक) पालन पेसा विभिन्न कारणले घट्दै गएपछि जिल्लाका स्थानीय तहहरू यसको संरक्षण र प्रवर्द्धनमा जुटेका छन्।
वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन र नयाँ पुस्तामा चासो कम हुनुजस्ता कारणले याकपालनप्रति आकर्षण घटेपछि स्थानीय निकायहरूले विशेष कार्यक्रम अघि सारेका हुन्।
सिरिजङ्घा गाउँपालिकाले हालै ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गर्यो। जिल्लामा पहिलो पटक आयोजित यस कार्यक्रममा याकको शारीरिक बनावट, सिङ, पुच्छर, स्वभाव आदिका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक पालकलाई रु २८ हजार ५८८ नगदसहित पुरस्कृत गरियो। सहभागी अन्य कृषकलाई पनि प्रोत्साहनस्वरूप रु आठ हजार ५८६ प्रदान गरिएको थियो।
चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाले कार्यक्रमले कृषकमा आत्मविश्वास बढाएको र राज्यले सम्झिएको महसुस भएको बताउनुभयो। गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम ल्याएको छ। प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने यस कार्यक्रमका लागि गाउँपालिकाले रु आठ लाख बजेट छुट्याएको अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि-२०८१ पारित भइसकेको छ र यसले याकपालनको पुनरुत्थान र कृषकको आम्दानी वृद्धिमा सहयोग पुर्याउनेछ।
यसैगरी, मिक्वाखोला गाउँपालिकाले पनि याक संरक्षण तथा प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको छ। अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार यस योजनाले कृषकलाई प्राविधिक सहयोग, तालिम र पूर्वाधारमा सघाउनेछ।
मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्द्धनमा चासो देखाउँदै रु पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो। उहाँले स्थानीय स्रोतसाधनको उपयोग गर्दै याकपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन लागिपरेको उल्लेख गर्नुभयो।
चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनसँग जोडिएको छ। यसबाट मासु, दूध, घ्यू, ऊनजस्ता उत्पादन प्राप्त हुन्छन्, जसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण टेवा पुर्याउँदै आएको छ।