कप्तान इन्दुको अविश्वसनीय ब्याटिङले बहराइनविरुद्ध नेपालको जित
काठमाडौँ, १ जेठ । आइसीसी टि२० महिला विश्वकप एसिया छनोटमा नेपालले बिहिबार बहराइनलाई डकवर्थ लुइसको नियमअनुसार छ विकेटले हराएको छ ।
यस जितले नेपाल अङक तालिकामा शीर्ष स्थानमा उक्लियो । नेपालले चार खेलबाट दुई जित, एक हार र १ अणिर्नित नतिजासहित पाँच अङक बनाएको छ । दोस्रो स्थानमा रहेको हङकङले तनि खेलबाट चार अङक बनाएको छ । बहराइनको तीन खेलबाट एक अङक छ । अब नेपालको ग्लोबल छनोटको सम्भावनालाई कायम राख्न शुक्रबार बहराइनसँग हङकङको हारको कामना गर्नुपर्नेछ । अन्यथा नेपालको यात्रा समूह चरणमै सकिनेछ । हङकङ समूह सीबाट सुपर थ्रीमा प्रवेश गर्नेछ ।
यस छनोट प्रतियोगितामा सहभागी नौ टिमलाई तीन समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।
बहराइनविरुद्ध बिहिबारको खेल वर्षाले प्रभावित रह्यो । पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेटको क्षतिमा ७६ रन बनाउँदा पानी परेको थियो । त्यसपछि खेल पुनः सुरु हुँदा नेपालले सात ओभरमा ५६ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएका थियो । कप्तान इन्दुले सात बलमा २४ रनको अविस्मरणीय पालि खेलेपछि नेपालले आठ बल अघि नै चार विकेटको क्षतिमा ५६ रन बनाएर लक्ष्य हासिल गर्यो । इन्दुले चार चौका र एक छक्का प्रहार गरिन् । उपकप्तान पुजा महतोले ११ बलमा दुई चौकासहित १३ रन बनाइन् । प्रारम्भिक ब्याटरद्वय सम्झना खड्का ५ र रुवि पोडार १ रनमा आउट भए । कविता जोशी पनि शुन्यमै पवेलियन फर्किन् । रुविना क्षेत्रीले अविजित चार रन बनाइन् ।
यसअघि बहराइनका लागि प्रारम्भिक ब्याटर रासिका रोड्रीगोले २९ बलमा २४ रन र कप्तान दिविका रसनगिकाले २३ रन बनाएका थिए । नेपालका लागि कुनै पनि बलरले विकेट लिन सकेनन् । बहराइनका तीन ब्याटर रन आउट भएका हुन् ।