बार्सिलोना २८ औँ पटक स्पेनी लिग च्याम्पियन

बार्सिलोना, २ जेठ । बार्सिलोनाले शुक्रबार आफ्नै शहरको प्रतिद्वन्द्वी इस्पानियोललाई २–० ले हराएर स्पेनी लिग उपाधि जितेको छ । बार्सिलोनाले २८ औँ पटक स्पेनी लिग जितेको हो । बार्सिलोनाले दुई चरण बाँकी छँदै उपाधि जित्यो । यसैगरी यस सत्रमा बार्सिलोनाको यो तेस्रो उपाधि भएको छ । यसअघि, बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप पनि जितेको थियो ।

बार्सिलोनाको जितमा पुनः १७ वर्षीय युवा खेलाडी लामिने यमाल चम्किए । यमालले दुई डिफेन्डरलाई छलाएपछि डिबक्सबाहिरबाट बाँया खुट्टाले घुमाउरो प्रहारमार्फत् दर्शनीय गोल गरे । यमालकै महत्वपूर्ण योगदानमा स्पेनले गत वर्ष युरोपेली च्याम्पियन्सीप पनि जितेको थियो । यमालको लय बार्सिलोनासँग पनि कायम रह्यो । यमाल मात्र होइन राफिना र पेड्री पनि शानदार लयमा रहेपछि बार्सिलाना यसपटक रोक्नै नसकिने टिमको रुपमा प्रस्तुत भयो ।

इस्पानियोलविरुद्ध इन्जुरी समयमा फर्मिन लोपेजले पनि गोल गरे । खेलको ८०औ मिनेटमा इस्पानियोल दस खेलाडीमा सीमित भएको थियो । यमाललाई पेटमा प्रहार गरेपछि लियान्ड्रो काब्रेराले रातो कार्ड पाएका हुन् । एजेन्सी