न्हायकँ बहिल (किर्तिपुण्य महाविहार)मा विश्व शान्तीको कामना गर्दै नाम संगिती स्त्रोत्र पाठ सम्पन्न

 

काठमाडौँ, जेठ २ गते । थथु पुई आचार्य गुठी नाम संगीति स्तोत्रपाठ उपसमिति र वाकवज्र मैत्री समाज क्वावहालको संयुक्त आयोजनामा विश्व शान्ति र मैत्रीको कामना गर्दै गत जेठ १ गते लगनटोलस्थित न्हायकं बहिलमा आर्य नामसंगीति स्तोत्र पाठसहितको एक भव्य कार्यक्रम आयोजना गरियो । कीर्तिपुण्य महाविहार (न्ह्याकं बहिल)ले सम्पूर्ण व्यवस्थापन र आर्थिक व्ययभार व्यहोरेको उक्त कार्यक्रम साँझ ५ बजेदेखि ८:३० बजेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा विशेष अतिथि तथा संस्कृतिविद् विजयक्रान्ति शाक्यले बुद्ध जयन्ती मनाउने सन्दर्भमा हाल प्रचलित मितिमा त्रुटि रहेको औंल्याउनुभयो । उहाँले भगवान बुद्धको महापरिनिर्वाण भएको मितिलाई आधार मानेर २५६९औँ बुद्ध जयन्ती मनाउने प्रचलनको सट्टा बुद्धको जन्ममितिलाई आधार मानेर २६४९औँ बुद्ध जयन्ती मनाउनुपर्नेमा जोड दिनुभयो ।

संस्कृतिविद् शाक्यले गौतम बुद्धको जन्म ई.पू. ६२३ मा भएको तथ्य कार्बनडेटिङका आधारमा युनेस्को, संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत भइसकेको र नेपाल सरकारले समेत मान्यता प्रदान गरिसकेकोले सोहीअनुरूप बुद्ध जयन्ती मनाउनुपर्ने तर्क प्रस्तुत गर्नुभयो । उहाँले केही पूर्वाग्रही व्यक्तिहरूले बुद्ध भारतमा जन्मेको र नेपालमा बोधिसत्व मात्र जन्मेको भनी भ्रम फैलाउने प्रयास गरिरहेको सन्दर्भमा बुद्ध नेपालमै जन्मेको तथ्यलाई थप स्थापित गर्न पनि जन्ममितिका आधारमा २६४९औँ बुद्ध जन्म जयन्ती तथा लुम्बिनी दिवस मनाउनु अपरिहार्य रहेको बताउनुभयो ।

यसैगरी, शाक्यले कीर्तिपुण्य महाविहार (न्ह्याकं बहिल) किरातकालदेखिकै प्राचीन विहार भएको उल्लेख गर्दै यसै विहारका मानचन्द्र शाक्यले स्वयम्भूमा विश्वमणि चढाएको र तेजपालले उपल्लो मुस्ताङको गुम्बामा सुनले लेखिएको ग्रन्थ चढाएको ऐतिहासिक तथ्यबारे जानकारी गराउनुभयो । उहाँले जयप्रकाश मल्लले तत्कालीन भोटेहरूको प्रयोग गरी दिउँसै विहारबाट सुनको चैत्य, क्वपाद्यः, मूर्तिहरू र अन्य बहुमूल्य गरगहना लुटेर विहारमा आगजनी गरी ध्वस्त पारेको कहालीलाग्दो घटनाको स्मरण गराउनुभयो । साथै, उहाँले हाल नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धबारीको जग्गासमेत न्हायकं बहिलकै भएको दाबी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता क्वावहालका राजगुरुजुले गर्नुभएको थियो । उहाँले नामसंगीतिको महत्त्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले सामूहिक रूपमा नामसंगीति पाठ गर्नुका साथै न्हायकं बहिलमा दीप प्रज्वलनसमेत गरेका थिए । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *