विद्युत् उत्पादन बढेपनि कमजोर प्रसारण सञ्जालले आपूर्तिमा समस्या : कार्यकारी निर्देशक शाक्य

काठमाडौं, २ जेठ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादनमा वृद्धि भए पनि सोही अनुरूप प्रसारण लाइन सञ्जालको विस्तार हुन नसक्दा विद्युत् आपूर्तिमा गम्भीर समस्या देखिएको बताउनुभएको छ।
शुक्रबार प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक शाक्यले प्रसारण सञ्जाललाई द्रुत गतिमा विस्तार गर्न नसकिए बिहीबार राति जस्ता सामान्य घटनाहरूमा पनि बारम्बार विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने हुन्छ। उहाँले भन्नुभयो, “प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, र दुर्घटना निम्तिन सक्छ।”
कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र समग्र नेटवर्कको कमजोरीका कारण विद्युत् आपूर्तिमा समस्या आइरहेको स्वीकार्नुभयो। “यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ। यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,” उहाँले भन्नुभयो, “हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ। अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं। यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं।”
माग र प्रणालीको आकार बढ्दै जाँदा सोही अनुपातमा पूर्वाधार विस्तार हुन नसक्दा प्रणालीले धान्न सक्नेभन्दा बढी भार परेको उहाँको भनाइ थियो। “अहिले हामी ‘विक लिंक’ (कमजोर विन्दु) मा पुगेका छौं। जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,” उहाँले थप्नुभयो, “प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ। यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ।”
स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको औंल्याउँदै उहाँले ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको जानकारी दिनुभयो। वर्षायाममा पर्याप्त बिजुली हुँदा पनि उक्त क्षेत्रमा प्रणालीको कमजोरीका कारण लोडसेडिङ हुने गरेको उहाँले स्वीकार्नुभयो।