पोखरामा प्रधानमन्त्री कप भलिबलको रोमाञ्चक सुरुवात, एपीएफ र एभरेस्टको विजयी आगाज
काठमाडौं, ८ जेठ । पर्यटकीय नगरी पोखरामा पहिलो पटक आयोजना गरिएको प्रधानमन्त्री कप एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको शनिबारदेखि पोखरा रङ्गशालास्थित कभर्डहलमा रोमाञ्चक सुरुवात भएको छ। नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन दिनको खेलमा महिलातर्फ विभागीय टोली एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबले विजयी सुरुवात गरेका छन् भने पुरुषतर्फ पनि एपीएफले नै सफलता हात पारेको छ।
शनिबार सम्पन्न महिलातर्फको पहिलो खेलमा विभागीय टोली एपीएफले नवप्रवेशी कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा सहजै पराजित गर्यो। एपीएफले कर्णालीमाथि २५–१०, २५–१० र २५–१५ को एकपक्षीय जित निकालेको हो।
त्यस्तै, महिलातर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा स्तब्ध बनायो। पहिलो सेट २२–२५ ले गुमाएको एभरेस्टले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीनै सेट क्रमशः २५–१९, २५–१७ र २५–१३ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण जित दर्ता गर्यो। एभरेस्टको टोलीमा ३ जना थाई खेलाडीसमेत रहेका छन्।
पुरुषतर्फको खेलमा पनि एपीएफ क्लबले आफ्नो दबदबा कायम राख्दै सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। एपीएफले सुदूरपश्चिमलाई २५–१९, २५–१६ र २५–१६ को सेटमा पराजित गरेको हो।
प्रतियोगिता अन्तर्गत आजै (शनिबार) पुरुषतर्फ गण्डकी प्रदेश र कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिगको पुरुष तथा महिला दुवैतर्फको विजेता टोलीले नगद ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ।
