प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवराेध, छानबिनमा सघाउन आग्रह

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले उक्त माग गरेका हुन् ।

बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले कारबाही अघि बढाउन खोज्नासाथ विपक्षी सांसदहरूले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न समय दिएका थिए ।

सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मानव तस्करी भइरहेको र करोडौंको असुली भएको विषय सञ्चारमाध्यम र जनस्तरमा समेत उठेको भन्दै यसको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले राजीनामा नआएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।

विपक्षी सांसदहरूले मानव तस्करी जस्तो गम्भीर विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्रीको राजीनामा पहिलो शर्त भएको अडान राखेका छन् ।