गणतन्त्र दिवस विशेष समारोह: गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन – प्रधानमन्त्री ओली

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफ्ना लागि आफैँ नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कुनै विकल्प नरहेको दृढतापूर्वक बताउनुभएको छ ।

गणतन्त्र दिवस, २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने स्पष्ट पार्दै गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी, पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौँ ।”

गणतन्त्रको स्वामित्व कुनै दल विशेषको नभई सम्पूर्ण जनताको भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।”
उहाँले वर्तमान व्यवस्थामा जनताले मतदानद्वारा वडा सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जातजाति र समुदायका करिब ३६ हजार ५७ प्रतिनिधि चुन्ने प्रक्रिया रहेको स्पष्ट पार्नुभयो ।

गणतन्त्र स्थापनापछिका उपलब्धिहरूको चर्चा गर्दै विगतको राजतन्त्रात्मक व्यवस्थासँग तुलना गर्दै उहाँले भन्नुभयो, “गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो? गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो? राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे? राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो? गरिबी कति थियो, कति घट्यो? खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो? जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो? यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।”

गणतन्त्र दिवसको ऐतिहासिक महत्व दर्शाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरुको बलिदान र हामी सबैको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन हो । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ ।” उहाँले थप्नुभयो, “गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ– हजारौं जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।”