मध्यपहाडी लोकमार्गकाे मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माणको थालनी

पर्वत, २२ जेठ । राष्ट्रिय गौरवको आयोजना, पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्वत जिल्लाको मोदीखोलामा आकर्षक ‘आर्क ब्रिज’ निर्माण कार्य प्रारम्भ भएको छ।

लोकमार्गको पर्वत खण्ड कालोपत्रे भइसकेको करिब दुई वर्षपछि यो महत्वपूर्ण पुल निर्माणको चरणमा प्रवेश गरेको हो।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालयका अनुसार, उक्त पुलले मोदी गाउँपालिकाको वडा नं. २ पातीचौर र वडा नं. ६ डिमुवालाई जोड्नेछ। आयोजनाकी इन्जिनियर कल्पना मिश्रले पुल निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पुल विभागबाट स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार, हाल पुल निर्माणस्थलमा रहेका विद्युतीय संरचनाहरू (पोल, तार आदि) हटाउने कार्य तीव्र गतिमा भइरहेको छ।

यो आर्क प्रविधिको पुल ६२ मिटर लामो र ११ मिटर चौडाइको हुनेछ। यसको निर्माणका लागि रु. ७ करोड ५० लाखको लागतमा ठेक्का सम्झौता सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *