कीर्तिमान गोल भएको खेलमा फ्रान्सलाई हराएर स्पेन फाइनलमा
स्टुटगार्ट, जर्मनी, २३ जेठ । १७ वर्षीय फरवार्ड लामिने यमालले दुई गोल गरेपछि स्पेनले शुक्रबार नेसन्स लिग सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले हराएको छ । नेसन्स लिगमा यो सर्वाधिक गोलको कीर्तिमान पनि भएको छ ।
युरोपियन च्याम्पियन स्पेनले आइतबार हुने फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग खेल्नेछ । एक दिनअघि पोर्चुगलले पहिलो सेमिफाइनलमा आयोजक जर्मनीलाई २–१ ले हराएको थियो ।
स्पेन र फ्रान्सबिचको खेललाई युवा स्टारहरु बिचको प्रतिस्पर्धाको रुपमा लिइएको थियो । तर यमालले फ्रान्सका युवा खेलाडीहरु डेजिरे डुए, ओसमान डेम्बेले मात्र होइन सुपरस्टार किलियन एमबापेलाई पनि छायाँमा पारे । डुए र डेम्बेलेले गत हप्ता पेरिस सेन्ट जर्मनलाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
स्पेनले मात्र एक गोलको अन्तरले जितेपनि खेलको एक घन्टासम्ममा फ्रान्स निकै पछाडि थियो । एक समय स्पेन ४–० ले अगाडी थियो । स्पेनी खेलाडीहरु आरामदायक स्थितिमा पुगेपछि बढी आत्मविश्वासी बन्दा फ्रान्सले शानदार पुनरागमन गर्यो ।
फ्रान्सका लागि २३ औँ मिनेटमा निको विलियम्स, २५ औँ मिनेटमा मिकेल मेरिनो, ५४ औँ मिनेटमा यामाल (पेनाल्टी) र ५५ औँ मिनेटमा पेड्रीले गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा एमबापेले पेनाल्टीमा एक गोल फर्काएपछि खेल ४–१ को स्थितिमा आयो । यद्यपि खेलको ६७ औँ मिनेटमा यमालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ५–१ ले अगाडि भएको थियो । त्यसपछि ७९ औँ मिनेटमा रायन चर्की, ८४ औँ मिनेटमा डेनियल भिभियनको आत्मघाती गोल र इन्जुरी समयमा कोलो मुयानीले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । एजेन्सी
तस्बिर साभार ः एपी