झापामा हात्ती छेक्न लगाइएको बारमा करेन्ट लगाउँदा आठ जना घाइते

झापा, २३ जेठ । झापाकाे कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् ।

स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाईका ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् ।

घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *