उखरमाउलो गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङको रौनक
दुई-तीन घण्टाको छोटो यात्रामा पुग्न सकिने त्रिशूली नदी र्याफ्टिङका लागि आकर्षक गन्तव्य बनेको छ। गर्मीयाम सुरु भएसँगै र्याफ्टिङ मात्र नभई क्लिफ जम्प गर्दै नदीको चिसो पानीमा रमाउनेहरूको पनि कमी छैन।
त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेलका अनुसार यो समय र्याफ्टिङका लागि उपयुक्त रहेको र र्याफ्टिङ गर्न आउनेको संख्या बढेको बताउनुभयो। “वर्षा सुरु नभएकाले पानीको बहाव पनि सामान्य छ,” उहाँले भन्नुभयो, “पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरू बढेका हुन्।” विशेषगरी बिदाका दिन र्याफ्टिङ र रिसोर्टमा बास बस्नेहरूको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ।
काठमाडौँ, चितवन, पोखरा लगायतका सहरबाट आउने पर्यटकहरूका अलावा काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि धेरैले त्रिशूलीमा र्याफ्टिङको अनुभव लिने गरेको कँडेलले बताउनुभयो। र्याफ्टिङका अतिरिक्त स्काइ साइक्लिङ जस्ता गतिविधिमा पनि पर्यटकहरूको आकर्षण बढ्दै गएको उहाँको बुझाइ छ।
र्याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी र्याफ्टिङका लागि सहज र सुरक्षित गन्तव्य हो। परिवार तथा साथीभाइसँग र्याफ्टिङ गर्दै र्यापिडको रोमाञ्चक अनुभव लिन सकिने उहाँले बताउनुभयो। काठमाडौँबाट नजिक र यातायातको सहज पहुँचका कारण त्रिशूली र्याफ्टिङको प्रमुख गन्तव्य बनेको श्रेष्ठको भनाइ छ।
