आईसीसी क्रिकेट विश्वकप लिग २

नेदरल्यान्ड्समाथि नेपालको लगातार जित

काठमाडौँ, २८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो शृङखलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ । यस नतिजासँगै चारमध्ये तीन खेल जितेर नेपालले स्कटल्यान्डमा भएको यस शृङ्खलालाई सफल बनायो ।

युरोपेली भूमिमा स्कटल्यान्ड र नेदरल्यान्ड्स जस्तो बलियो टिम सामेल शृङ्खलामा नेपालको यो सफलता अनपेक्षित पनि हो । यसअघि, नेपालले पहिलो खेलमा घरेलु टिम स्कटल्यानड र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तेस्रो खेलमा नेपालको जितको नजिक पुगेर पनि स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो ।

यो शृङ्खलाअघि पुछारमा रहेको नेपाल अब १६ खेलबाट १२ अङ्क बनाएर सातौँ स्थानमा रहेको छ ।

सन्दीप र नन्दन चम्के

स्कटल्याण्डको डुन्डीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा मात्र २३६ रन बनाएको थियो । मध्यम स्कोर बनाएको नेपालले ब्याटिङ गर्ने क्रममा दस रन पेनाल्टी वेहोरेपछि नेदरल्यान्ड्सलाई लक्ष्य अझ सहज हुने अनुमान गरिएको थियो ।

तर स्पीनर सन्दीप लामिटाने र मध्यम गतिका बलर नन्दन यादवले तीन–तीन विकेट लिएपछि नेदरल्यान्ड्स चार बल अघि नै २२० रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि वेस्ले बारेसीले सर्वाधिक ३६ रनको पालि खेले । कप्तान स्कट एडवाड्र्सले ३०, माइकल लेभिटले २७ , काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रन बनाए ।

सन्दीपले १० ओभरमा ३९ रन र नन्दनले ९ ओभरमा ३९ रन खर्चेर एकआपसमा छ विकेट बाँडे । यसैगरी ललित राजवंशीले दुई तथा करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए । नन्दनले एकदिवसीय अन्तर्राष्ट्रिय पदार्पण खेललाई अविस्मरणीय बनउने क्रममा प्रारमिभक ब्याट्सम्यान म्याक ओ डाउन, रोल्फ भान डर भर्व र काइल क्लेनको विकेट लिएका हुन् ।

आरिफको महत्वपूर्ण पालि

यसअघि, नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८५ बलको सामना गरेर सात चौका र दुई छक्का प्रहार गरे । नेपालका लाग भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५–३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए ।

नेदरल्याण्ड्सका लागि तेज बलर पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर सर्वाधिक चार विकेट लिए । यसैगरी माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट हासिल गरे

सो खेलमा आरिफ म्यान अफ दि म्याच घोषित भए । पछिल्लो पटक नेदरल्यान्ड्सविरुद्धकै खेलमा पनि आरिफ महत्वपूर्ण अर्धशतकीय पाल खलेर म्यान अफ दि म्याच बनेका थिए ।