तीनकुने घटना: थुनछेक बहसकाे आज नवौं दिन, आदेश अझै अनिश्चित

काठमाडौं, २९ जेठ । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आज नवौं दिन पनि जारी रहेको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको बहसमा सरकारी वकिल पक्षले जवाफी बहस गरिरहेको छ, तर मुद्दा दायर भएको १८ दिन बितिसक्दा पनि अन्तिम आदेश आउन सकेको छैन।
जिल्ला सरकारी वकिल कार्यालयले कूल ६१ जनाविरुद्ध मुद्दा दायर गरेकोमा हाल ३९ जना प्रतिवादी हिरासतमा छन्।

तीमध्ये ११ जनालाई सामान्य आपराधिक उपद्रवको मात्र मुद्दा लगाइएको थियो र उनीहरू धरौटीमा रिहा भइसकेका छन्। बाँकी प्रतिवादीहरूमाथि गम्भीर आरोपहरू लगाइएको छ।
राजावादी आन्दोलनका कमाण्डर मानिएका दुर्गा प्रसाईंसहित आठ जना मुख्य प्रतिवादीमाथि भने कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दा समेत लगाइएको छ। प्रहरी प्रतिवेदनले उनीहरूले राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास गरेको आरोप लगाएको छ।

गत ११ जेठमा मुद्दा दायर भएपछि २० जेठदेखि प्रतिवादीहरूको बयान र थुनछेक बहस निरन्तर चलिरहेको छ। यसै घटनामा संलग्न चार जना नाबालकलाई भने सुधार गृहका लागि भक्तपुर पठाइएको थियो।

सरकारी वकिलको जवाफी बहस सकिएपछि न्यायाधीश कार्कीको इजलासले प्रतिवादीहरूलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने भन्नेबारे आदेश दिनेछ।