बहुप्रतिक्षित ग्वार्को फ्लाइओभर असार ६ देखि सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ, २ असार । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण मानिएको ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर आउँदो बिहीबार (असार ६ गते) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
सडक विभागका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाइओभरको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।
यसअघि गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएको र लेन सेपरेटर तथा लाइनिङ जस्ता अन्तिम चरणका कामहरू पनि पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, अब फ्लाइओभर सवारीसाधन सञ्चालनका लागि पूर्ण रूपमा तयार छ ।