एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध साढे ५ करोडको बैंकिङ कसुरमा उजुरी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडाैं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरमा प्रहरीमा जाहेरी परेको छ।
दाङ-१ बाट निर्वाचित सांसद चौधरीविरुद्ध परेको चेक अनादरको उजुरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हाे।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी प्राप्त भएको पुष्टि गरेका छन्। उनले जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रक्रियामा रहेको जानकारी दिए।
प्रहरी स्रोतका अनुसार, चौधरीविरुद्ध बैंकिङ कसुर वा ठगी कुन मुद्दा आकर्षित हुने भन्ने विषयमा कानुनी परामर्श भइरहेको छ। प्राप्त जाहेरीको विस्तृत छानबिनपछि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।
चौधरी एकीकृत समाजवादीका उपमहासचिव तथा संघीय संसदमा पार्टीका प्रमुख सचेतक हुन्। उनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रहरीले जाहेरीकर्ताको पहिचान भने खुलाएको छैन।